logo
  • २०८३ बैशाख ३ बिहीबार | Thu, 16 Apr 2026
  • झलनाथकी पत्नीले हात गुमाएको आगजनी घटनामा बझाङका खातीविरुद्ध मुद्दा दर्ता

    • पटकानी
    • २०८२ फाल्गुन २६ गते, मंगलवार
    झलनाथकी पत्नीले हात गुमाएको आगजनी घटनामा बझाङका खातीविरुद्ध मुद्दा दर्ता

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको डल्लुस्थित निवासमा तोडफोड, आगजनी र ज्यान मार्ने उद्योग गरेको अभियोगमा बझाङका दिलबहादुर खातीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार खातीविरुद्ध कैद, जरिवाना र १० करोड ३४ लाख रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको हो।

    अभियोग

    सरकारी वकिल कार्यालयले अभियुक्त खातीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम ‘अपराधिक उपद्रव’ र दफा १८३ बमोजिम ‘ज्यान मार्ने उद्योग’ को कसुरमा मुद्दा चलाएको छ। अभियोग पत्रमा खातीले नियतवश घरमा आगो लगाएर ज्यान लिने प्रयास गरेको उल्लेख गरिएको छ। साथै, एउटै घटनाक्रममा एकभन्दा बढी कसुर गरेकाले संहिताको दफा ४३ बमोजिम ‘एकीकृत कसुर’मा थप सजायको समेत माग दाबी गरिएको छ।

    निवासमा आक्रमण

    दर्ता भएको अभियोग पत्रका अनुसार भदौ २४ गते ‘जेनजी’ समूहको नाममा भइरहेको आन्दोलनका क्रममा खातीको नेतृत्वमा रहेको भीडले खनालको निवासमा आक्रमण गरेको थियो। प्रदर्शनकारीले खनाल निवासको कम्पाउण्डमा प्रवेश गरी सुरक्षा दस्तालाई तितरबितर पारेका थिए। त्यसपछि ग्यारेजमा राखिएको ‘प्रदेश ०३-०१-००२ झ ५१८७’ नम्बरको सरकारी गाडीमा आगजनी गरिएको र सोही क्रममा घरमा समेत आगो लगाइएको अभियोग पत्रमा उल्लेख छ।

    घटनाका बेला नेता खनालकी पत्नी रवी लक्ष्मी चित्रकार घरभित्रै रहेको अवस्थामा उनलाई बाहिर निस्कन नदिने मनसायले घरका विभिन्न भागमा आगो झोसिएको जाहेरीमा उल्लेख छ। छिमेकी र सुरक्षाकर्मीको सक्रियतामा उनी र छोराको उद्धार गरिएको थियो।

    शारीरिक चोट र क्षतिपूर्ति

    आगजनीका कारण ७० वर्षीया रवी लक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन्। अभियोग पत्रअनुसार उनको शरीरको १५ प्रतिशत भाग जलेको, फोक्सोमा धुवाँको गम्भीर असर देखिएको मेडिकल रिपोर्टमा उल्लेख छ। गम्भीर शारीरिक इन्फेक्सनका कारण उपचारका क्रममा उनको देब्रे हात कुहिनोसम्म काट्नु परेको थियो।

    प्रहरीको घटनास्थल मुचुल्काअनुसार घर, गाडी, फर्निचर र अन्य जिन्सी सामान गरी कुल १० करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। सरकारी वकिलले उक्त क्षतिपूर्ति रकम र उपचार खर्चसमेत अभियुक्तबाटै भराउन अदालतसँग माग गरेको छ।

    प्रमाण र कानुनी प्रक्रिया

    प्रहरीले अभियुक्त खातीविरुद्ध सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान र अस्पतालको फरेन्सिक रिपोर्टलाई मुख्य प्रमाणका रूपमा पेश गरेको छ। अभियोग पत्रमा फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र उनीहरू पहिचान भएपछि पूरक अभियोग पत्र लैजाने उल्लेख गरिएको छ।

    + posts



    पटकानी    
  • २०८२ फाल्गुन २६ गते, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP