काठमाडौं : फोक्सोको रोगबाट पीडित श्रीमान्को उपचार खर्च जुटाउन वैदेशिक रोजगारीमा गएकी एक महिला मृत्युको मुखबाट बचेर फर्किएकी छन्।
‘ब्युटी पार्लर’को काममा आकर्षक तलब हुने प्रलोभन देखाएर अवैध बाटो हुँदै कुवेत पुर्याएकी पारिता (नाम परिवर्तित)लाई त्यहाँ चरम यातनापछि घरको दोस्रो तलाको झ्यालबाट तल खसालिएको तथ्य खुलेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार पीडितको जाहेरीका आधारमा सल्यान घर भई हाल काठमाडौं बस्ने सुशीला थारु र सुर्खेत घर भई हाल भारतको नयाँ दिल्ली बस्ने शशिराम खड्कालाई मुख्य प्रतिवादी बनाइएको छ।
अभियोग पत्रअनुसार, पीडित पारिताका श्रीमान् फोक्सो सम्बन्धी बिरामी भई काम गर्न नसक्ने अवस्थामा थिए। आर्थिक अवस्था कमजोर भएकाले श्रीमान्को उपचार गर्ने र छोराछोरी पढाउने उद्देश्यले उनी विदेश जान तयार भएकी थिइन्।
तर, कुवेत पुगेपछि बन्धक बनाइएकी उनी घरधनीले घरको दोस्रो तलाबाट खसालिँदा गम्भीर घाइते भइन्। अभियोग पत्रमा उल्लेख भएबमोजिम हाल उनको अल्का अस्पतालमा उपचार भइरहेको छ। अस्पतालको रिपोर्टअनुसार उनको मेरुदण्ड, देब्रे खुट्टाको टिबिया र दाहिने खुट्टाको कुर्कुच्चा भाँचिएको छ। उनी मंसिरमा ह्विलचियरको सहारामा नेपाल फर्किएकी थिइन्।
कसरी भयो घटना ?
आर्थिक अवस्था कमजोर बनेपछि विदेश गएर कमाउने निधोमा पुगेकी पारिताको भेट सुशीला थारुसँग हुन्छ। उनको अवस्था थाहापाएपछि तिनै सुशीलाले ‘कुवेतको ब्युटी पार्लरमा महिनाको १२० केडी (करिब ५३ हजार रुपैयाँ) तलब हुन्छ, श्रीमान्को उपचार पनि हुन्छ’ भन्दै प्रलोभन देखाइन्।
त्यसपछि पारितालाई काठमाडौंबाट बसमार्फत नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइयो। दिल्लीमा शशिराम खड्काले बन्धक बनाई राखेको र पछि कुवेत पठाएको अभियोग पत्रमा उल्लेख छ।
कुवेत पुगेपछि विमानस्थलबाटै एजेन्टको अफिसमा लगियो। त्यहाँबाट उनलाई ८५० केडीमा एक अरबी घरधनीलाई बिक्री गरियो। घरधनीले ‘हामीले तँलाई पैसामा किनेको हो’ भन्दै दैनिक २१ घण्टा काममा लगाउने, खान नदिने र कुटपिट गर्ने गरेको पीडितको बयानमा उल्लेख छ।
यातना सहन नसकी बिरामी हुँदा समेत उपचार नपाएपछि उनले प्रतिवाद गर्दा झ्यालबाट खसालिएको अभियोग पत्रमा उल्लेख छ। ‘म घर बाहिर भुईँमा लडी मेरो हात, खुट्टा, ढाड लगायतका अङ्गमा चोटपटक लागि घाइते आएँ, मेरो मुखबाट समेत रगत बगेको अवस्था थियो,’ सन्ध्याले भनेकी छन्।
गम्भीर घाइते अवस्थामा बेहोस भएकी उनलाई कुवेती प्रहरीले उद्धार गरी आदान अस्पताल पुर्यायो। उनको ढाडको शल्यक्रिया भयो। दुई महिना ४० दिनसम्म अस्पतालमा उपचार गराउँदा कुवेती प्रहरीले घरधनीलाई उपचार खर्च बेहोर्न लगाए पनि पछि घरधनीले वास्ता गरेनन्।
कुवेतमा रहेकी सन्ध्याकी दिदी र ‘युवा शक्ति’ नामक संस्थाको पहल तथा नेपाली दूतावासको समन्वयमा उनको थप उपचार र नेपाल फिर्तीको प्रक्रिया अघि बढ्यो।
सरकारी वकिल कार्यालयले पक्राउ परेकी ४१ वर्षीया सुशीला थारु (काठमाडौं, टोखा) र फरार रहेका ४८ वर्षीय शशिराम खड्का (सुर्खेत) विरुद्ध ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ अनुसार मुद्दा दायर गरेको छ।
अभियोग पत्रमा उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ४ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेको ठहर गरिएको छ। यस कसुरमा ऐनको दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको सजाय माग गरिएको छ।
साथै, शशीराम खड्काले पीडितको शरीरका संवेदनशील अङ्ग छुने र यौन दुर्व्यवहार गर्ने प्रयास गरेकोले नैतिक पतन देखिने फौजदारी कसुर गरेको दाबी समेत लिइएको छ।
यसका साथै, पीडितलाई लागेको उपचार खर्च ३० हजार ७६० र प्रतिवादीलाई हुने जरिवानाको ५० प्रतिशत रकम क्षतिपूर्तिको रूपमा भराई पाउन र कुवेतमा काम गरेको साढे दुई महिनाको तलब बराबरको नेपाली रकम पनि क्षतिपूर्ति भराउन माग गरिएको छ।
प्रतिक्रिया