logo
  • २०८३ बैशाख ३ बिहीबार | Thu, 16 Apr 2026
  • करार म्याद थप्न घुस लेनदेन, मेयर र सब-इन्जिनियर दुवै अख्तियारको फन्दामा

    करार म्याद थप्न घुस लेनदेन, मेयर र सब-इन्जिनियर दुवै अख्तियारको फन्दामा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

    असिस्टेन्ट सब-इन्जिनियरको करार म्याद थप गरिदिए बापत नगर प्रमुख वादीले घुस लिएको र शाहले घुस दिएको तथ्य पुष्टि भएपछि आयोगले दुवै जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

    घटनाको विवरण 

    विज्ञप्तिअनुसार, चौरजहारी नगरपालिकामा विगत ८ वर्षदेखि करार सेवामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहसँग नगर प्रमुख वादीले आर्थिक वर्ष २०८१/०८२ को म्याद थपका लागि १ लाख रुपैयाँ माग गरेका थिए। शाहले उक्त रकम २०८० साउन ८ गते नगर प्रमुख वादीको बैंक खातामा जम्मा गरिदिएपछि मात्र उनको म्याद थप भएको अनुसन्धानबाट खुलेको छ।

    पुनः चालू आर्थिक वर्ष २०८२/०८३ को करार नवीकरणका लागि समेत नगर प्रमुखले थप १ लाख रुपैयाँ माग गरेकोमा शाहले उक्त रकम उपलब्ध गराउन नसकेपछि उनलाई सेवाबाट हटाइएको थियो। सेवाबाट हटाइएपछि शाहले आफूले बैंकमा रकम जम्मा गरेको प्रमाण (भौचर) सहित आयोगमा उजुरी दिएका थिए।

    कानुनी मागदाबी र सजाय

    आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ। नगर प्रमुख वादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको माग गरिएको छ।

    साथै, निर्वाचित नगर प्रमुख (सार्वजनिक पदधारी) भएकोले निजलाई सोही ऐनको दफा २४ बमोजिम थप सजाय गर्न समेत मागदाबी गरिएको छ।

    असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहलाई घुस दिने कार्यमा संलग्न रहेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुरदार ठहर गर्दै कैद र जरिवानाको सजाय माग गरिएको छ। आयोगले दुवै पक्षबाट घुस लेनदेन भएको बैंक स्टेटमेन्ट र अन्य प्रमाणका आधारमा आरोप पुष्टि हुने देखिएको जनाएको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बैंक स्टेटमेन्ट र बैंकिङ कारोबारको प्रमाणबाट नगर प्रमुखको खातामा घुस रकम जम्मा भएको र सोही आधारमा करार अवधि निरन्तरता दिने निर्णय भएको देखिन्छ।

    + posts



    पटकानी    
  • २०८२ चैत्र ३ गते, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP