काठमाडौं : विवाहको प्रलोभन देखाएर एक युवतीलाई काठमाडौं ल्याई बलात्कार गरेको अभियोगमा बस सहचालक सुजन भट्टराईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
ताप्लेजुङबाट विवाह गर्ने आश्वासन दिई काठमाडौं ल्याएर नयाँ बसपार्कस्थित एक होटलमा बन्धक बनाई तीन पटकसम्म बलात्कार गरी अलपत्र पारेर फरार भएको भट्टराईमाथि आरोप छ। उक्त घटनामा उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १० वर्ष कैद र क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
कसरी भयो घटना ?
तेह्रथुमको फेदाप गाउँपालिकाका १८ वर्षीय सुजन भट्टराई र पीडित युवती सारिका (परिवर्तित नाम) बीच ताप्लेजुङ-काठमाडौं यात्राका क्रममा चिनजान भयो। सुजन सोही बसमा सहचालक थिए।
यात्राकै क्रममा सारिकाको मोबाइलमा ब्यालेन्स सकिएपछि सुजनले आफ्नो ई-सेवाबाट ब्यालेन्स हालिदिए। यहीँबाट उनीहरूबीच नियमित कुराकानी सुरु भयो।
विवाहको जाल
कुराकानीकै क्रममा सुजनले सारिकालाई ‘विवाह गर्ने’ आश्वास दिन थाले। अभियोग पत्रअनुसार सुजनले सारिकालाई विवाह गर्ने पक्का गरी काठमाडौं आउन राजी गराए। गत फागुन ४ गते ताप्लेजुङबाट हिँडेका उनीहरू फागुन ५ गते बिहान १० बजे नयाँ बसपार्क ओर्लिए।
काठमाडौं पुगे लगत्तै सुजनले उनलाई मित्रनगरस्थित ‘न्यू होटल रोयल माउन्टेन’ को कोठा नम्बर १०४ मा पुर्याए। होटल सञ्चालकका अनुसार, सुजनले सारिकालाई आफ्नै श्रीमती वा परिवारको सदस्यका रूपमा चिनाएर कोठा लिएका थिए।
होटलमा करणी
अभियोग पत्रमा उल्लेख भएअनुसार, सोही दिन बिहान साढे १० बजेदेखि साँझ साढे ५ बजेसम्म सुजनले सारिकाको इच्छा र मञ्जुरी विना तीन पटकसम्म जबरजस्ती करणी गरे। साँझ परेपछि सुजनले ‘म लुगा धुन जान्छु’ भनेर होटलबाट निस्किए र मोबाइल स्विच अफ गरेर फरार भए।
भोलिपल्ट बिहान होटल सञ्चालकले कोठा खाली गर्न भनेपछि ती युवतीसँग न पैसा थियो, न त बस्ने ठाउँ। सडकमा दयनीय र अत्तालिएको अवस्थामा हिँडिरहेको देखेपछि ड्युटीमा रहेका प्रहरीले उनलाई केरकार गरे।
सोधपुछका क्रममा उनले आफूमाथि भएको घटनाबारे जानकारी दिइन्। प्रहरीले तत्काल उनलाई संरक्षणका लागि ‘आसरा गृह’ मा पठायो र कानुनी प्रक्रिया अगाडि बढायो। सुजनको खोजी सुरु गर्यो।
प्रमाण र कानुनी प्रक्रिया
प्रहरी अनुसन्धानका क्रममा होटलको सीसीटीभी फुटेजमा सुजन र सारिकासँगै होटल प्रवेश गरेको र सुजन पछि एक्लै निस्किएको देखिन्छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा गरिएको स्वास्थ्य परीक्षणले पनि उनीमाथि शारीरिक हिंसा र करणी भएको तथ्य पुष्टि गर्यो।
सुजनलाई फागुन ९ गते नयाँ बसपार्क क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको थियो। उनले प्रहरीसमक्षको बयानमा युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भएको दाबी गरे पनि सरकारी वकिलले त्यसलाई ‘प्रलोभनमा पारिएको जबरजस्ती करणी’को रूपमा व्याख्या गरेको छ।
सजायको मागदाबी
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सुजनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिम जबरजस्ती करणीको मुद्दा दायर गरेको छ। सारिकाको उमेर घटनाको समयमा १९ वर्ष ९ महिना देखिएकाले अभियुक्तलाई ७ देखि १० वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना गर्न मागदाबी गरिएको छ।
साथै, पीडितलाई पर्न गएको शारीरिक र मानसिक असरको विचार गरी अभियुक्तबाट उचित क्षतिपूर्ति भराउन समेत अदालत समक्ष अनुरोध गरिएको छ। हाल यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
प्रतिक्रिया