काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको हो।
गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आगजनी र त्यसक्रममा घरभित्र जलेको अवस्थामा फेला परेको नगदका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान केन्द्रित गरेको छ।
घटनास्थलबाट सङ्कलन गरिएका नोटका टुक्रा र खरानीलाई प्रमाणका रूपमा लिइएको छ। त्यस्तै किसिमको प्रकरणमा पूर्व मन्त्री दीपक खड्कालाई चैत १५ गते नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।
जेन-जी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको सरकारले देउवा दम्पतीमाथि छानबिन गर्न निर्देशन दिएको थियो। चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने निर्णयलाई थप तीव्रता दिइएको हो।
भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा आधारमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि चैत १४ गतेदेखि हिरासतमा राखिएको छ। विभागले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ।
हाल देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा रहेका छन्। देउवा फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए भने आरजु भारत हुँदै सिंगापुर पुगेर हाल देउवासँगै हङकङमा रहेको बताइएको छ। पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउन प्रहरीले अब इन्टरपोलमार्फत ‘नोटिस’ जारी गर्ने तयारी अघि बढाउन सक्ने बताइएको छ।
निवासमा भएको आगजनीको सात महिनापछि देउवाले घर भत्काउन सुरु गरेपछि प्रमाण लोप हुने जोखिमका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त कार्यमा रोक लगाएको छ। विभागले डढेका नोट र अन्य प्रकरणलाई जोडेर अनुसन्धानलाई थप सशक्त बनाएको गृह मन्त्रालय स्रोतले पुष्टि गरेको छ।
प्रतिक्रिया