काठमाडौं : आफ्नै सालीलाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेका एक व्यक्ति एक वर्षपछि पक्राउ परेका छन्। म्यादी प्रहरीको भर्ना प्रक्रियामा सहभागी हुन जाँदा ३० वर्षीय महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अभियोगपत्रका अनुसार राईले आफ्नै संरक्षणमा रहेकी १९ वर्षीया सालीलाई डर-त्रास देखाई पटक-पटक बलात्कार गरेका थिए। बलात्कारका कारण पीडित युवतीले बच्चासमेत जन्माएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनापछि फरार रहेका राई हालै म्यादी प्रहरीमा भर्ना हुन खोज्दा प्रहरीको फन्दामा परेका हुन्। प्रहरीले संकलन गरेको प्रमाण र पीडितको बयानका आधारमा सरकारी वकिलको कार्यालयले भोजपुर स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका बस्दै आएका राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता गरेको छ।
भएको के थियो ?
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३, मितेरीचोक अवस्थित घरको एउटा कोठामा तीन जनाको सानो संसार थियो- ३० वर्षीय महेश राई, उनकी श्रीमती र १९ वर्षीया साली अर्ना (परिवर्तित नाम)। जीविकोपार्जनका लागि संघर्ष गरिरहेको यो परिवारमा सालीको सपना भने अलि ठूलो थियो- वैदेशिक रोजगारीमा जाने र भविष्य बनाउने। तर, त्यही एउटा कोठाभित्रको विश्वासघातले उनको सपना र जीवनको मोड नै बदलिदियो।
एकान्तको फाइदा र डरको खेती
घटनाको सुरुवात २०८१ साल भदौको पहिलो साताबाट हुन्छ। भदौ ५ गते महेशकी श्रीमती कामको सिलसिलामा धरान गइन्। कोठामा अब महेश, उनका ८ वर्षीय छोरा र साली मात्र बाँकी थिए। श्रीमती नभएको यही मौकालाई महेशले गलत मनसायका साथ प्रयोग गरे।
मिति २०८१ भदौ ७ गते रातको करिब साढे ११ बजेको थियो। छोरा निदाएपछि महेश साली सुतेको ओछ्यानमा पुगे। भिनाजुजस्तो अभिभावक तुल्य व्यक्तिबाट सुरक्षित महसुस गरिरहेकी सालीमाथि उनले कुदृष्टि काढे। अभियोग पत्रअनुसार, उनले सालीलाई “मैले भनेको मान्नुपर्छ, नत्र राम्रो हुँदैन” भन्दै डर, धाक र धम्की दिए। प्रतिकार गर्न खोज्दा पनि नसकेपछि १९ वर्षीया किशोरी लत्रिन बाध्य भइन्। त्यो रातको घटनापछि पनि महेशले धम्की दिँदै पटक-पटक बलात्कार गरिरहे।
मेडिकल रिपोर्टले खोल्यो लुकेको रहस्य
डरका कारण किशोरीले घटनाबारे कसैलाई भन्न सकिनन्। घटना गुपचुप नै रह्यो। समय बित्दै गयो। किशोरी आफ्नो विदेश जाने प्रक्रियामा थिइन्। भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (मेडिकल चेकअप) अनिवार्य थियो।
जब उनी मेडिकल चेकअपका लागि अस्पताल पुगिन्, रिपोर्टले उनीसहित परिवारलाई छाँगाबाट खसालेजस्तो बनायो। रिपोर्टमा उनी ‘अनफिट’ मात्र भइनन्, उनको पेटमा २८ हप्ताको गर्भ रहेको खुल्यो। विदेश उड्ने सपना बोकेकी अविवाहित छोरीको पेटमा गर्भ देखिएपछि परिवारले सोधखोज गर्दा बल्ल त्यो कालरात्रीको रहस्य बाहिर आयो।
अपराधीको पलायन र पक्राउ
गर्भको कुरा बाहिर आएपछि महेश राई काठमाडौंबाट गायब भए। रोचक कुरा के छ भने, कानुनबाट बच्न भागेका उनी कानुन रक्षक बन्न ‘म्यादी प्रहरी’मा भर्ना हुनको लागि गृह जिल्ला भोजपुर पुगेका थिए।
यता पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए। अनुसन्धान जारी थियो। अन्ततः जिल्ला प्रहरी कार्यालय भोजपुरको सहयोगमा मिति २०८२ माघ १२ गते महेश पक्राउ परे।
न्यायको पर्खाइ
प्रहरी हिरासतमा महेशले सालीसँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरे पनि त्यसलाई ‘सहमति’ भएको भनेर बचाउ गर्न खोजे। तर, अनुसन्धान र पीडितको बयानले डर-त्रास देखाई जबरजस्ती गरिएको देखाएको अभियोग पत्र उल्लेख छ।
अहिले पीडित किशोरीले छोरीलाई जन्म दिइसकेकी छन्। एउटा मेडिकल रिपोर्टले लुकेको अपराध त बाहिर ल्यायो, तर एउटी किशोरीको विदेश जाने सपना तुहियो र उनीमाथि नमेटिने पीडा थपियो। मुलुकी अपराध संहिता, २०७४ बमोजिम ७ देखि १० वर्षसम्मको कैद सजाय माग गर्दै उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा बलात्कार सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको छ।
प्रतिक्रिया