logo
  • २०८२ माघ २६ सोमबार | Mon, 09 Feb 2026
  • हिजो काठमाडौंमा डोजर चल्यो, अहिले झापामा त्रास!

    हिजो काठमाडौंमा डोजर चल्यो, अहिले झापामा त्रास!

    काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर हुँदा सुकुम्वासी बस्तीमा डोजर चलाएर चर्चा र विवादको केन्द्रमा रहेका बालेन्द्र शाह ‘बालेन’ चुनावी मैदानमा झापा ओर्लिएपछि स्थानीय मतदातामा उनीप्रति संशय र त्रास देखियो।

    निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाको सुकुम्वासी बस्तीमा चुनावी घरदैलोका लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनसँग स्थानीयले काठमाडौंको ‘डोजर शैली’ झापामा पनि दोहोरिने त होइन भन्दै प्रश्न गरे।

    काठमाडौंमा सुकुम्वासी बस्ती हटाउन खोज्दा भएको झडप र त्रासलाई स्मरण गर्दै झापाका मतदाताले बालेनसँग आफ्नो उठिबास हुने आशंका व्यक्त गरे। स्थानीयको जिज्ञासा र संशय मेट्ने प्रयास गर्दै बालेनले काठमाडौं र झापाको परिस्थिति फरक रहेको भन्दै प्रस्टीकरण दिए।

    ‘काठमाडौंका सुकुम्वासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन,’ उनले स्थानीयलाई आश्वस्त पार्दै भने, ‘काठमाडौंको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो। बाढी आउँदा उहाँहरू डुबानमा पर्ने भएकाले सुरक्षित ठाउँमा सार्न खोजिएको हो। तर, त्यसलाई गलत ढंगले प्रचार गरेर भ्रम फैलाइयो। खासमा त्यो मान्छेको ज्यान जोगाउन गरिएको प्रयास थियो।’

    उनले झापाका सुकुम्वासीहरू ४०-५० वर्षदेखि बसोबास गर्दै आएकाले उनीहरूको समस्या ‘वास्तविक’ भएको टिप्पणी गरे। उनले खोला किनार बाहेकका सुकुम्वासीको लगत भूमि आयोगमार्फत संकलन गरी स्थानीय तहको सिफारिसमा लालपुर्जा दिनुपर्नेमा जोड दिए। पहुँचका आधारमा लालपुर्जा वितरण गर्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

    भ्रष्टाचार र प्रदेश संरचनाबारे धारणा

    छलफलका क्रममा प्रदेश संरचना खारेज गरे बजेट जोगिने एक स्थानीयको तर्कमा बालेनले फरक मत राखे। उनले भने, ‘प्रदेश संरचनामा न्यून खर्च हुन्छ। मन्त्री र सांसदको तलबले मात्र देश आर्थिक संकटमा परेको होइन, मुख्य समस्या भ्रष्टाचार र गलत व्यवस्थापन हो। तलब खाएर होइन, भ्रष्टाचार गरेर देश कमजोर भएको हो।’

    शिक्षा र स्वास्थ्य

    शिक्षा र स्वास्थ्य महँगो भएका कारण युवा विदेशिनु परेको विषयमा बालेनले संविधानको ग्यारेन्टी र बजेट अभावको कुरा गरे। उनले खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्ने भन्दै काठमाडौंमा निजी विद्यालयमा १० प्रतिशत कोटा विपन्नका लागि छुट्याइएको उदाहरण दिए।

    आगामी निर्वाचनका लागि रास्वपाले फागुन पहिलो साता आफ्नो विस्तृत घोषणापत्र र स्थानीय एजेन्डा सार्वजनिक गर्ने उनले जानकारी दिए। काठमाडौंको आफ्नो छविप्रति झापाका सुकुम्वासीमा देखिएको ‘डोजर त्रास’ लाई चिर्नु नै यति बेला बालेनका लागि मुख्य चुनौती देखियो।

    + posts



    पटकानी    
  • २०८२ माघ २० गते, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP