विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातालाई पत्र पठाउन थालेका छन्। पत्रमा उनले विगतमा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भए आफू क्षमाप्रार्थी रहेको उल्लेख गरेका छन्।
डा. कोइरालाले पत्रमा लेखेका छन्, “मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु।”
उनले आफ्नो क्षेत्रको विकासका लागि आफूले गरेको प्रयासको मूल्याङ्कन गर्ने जिम्मा पनि मतदातालाई छोडेका छन्। कोइरालाले भनेका छन्, “यस क्षेत्रका विकासका गतिविधिलाई तीव्रता दिने मेरो आकांक्षालाई मैले आफ्नो क्षमता, तपाईंको सक्रिय दबाब र मेरो सम्पर्कका माध्यमबाट कति गर्न सकेँ, यसको मूल्यांकन गर्ने जिम्मेवारी म तपाईंलाई नै दिन्छु।”
उनले पत्रमार्फत भ्रष्टाचार विरुद्धको आफ्नो अडान दोहोऱ्याए। भ्रष्टाचार निर्मूल नगरी विकास सम्भव नहुने आफ्नो मान्यता रहेको स्पष्ट पार्दै डा. कोइरालाले विगत लामो समयदेखि आफूले पार्टीभित्र र बाहिर सुशासनका लागि आवाज उठाउँदै आएको बताए।
बिपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप र मध्यमार्गी धार’ नै कांग्रेसको वास्तविक मूल्य भएको उल्लेख गर्दै उनले आफू सोही मार्गमा अविचलित रहेको बताए। वर्तमान राजनीतिक परिस्थिति र संवैधानिक समस्याप्रति संकेत गर्दै डा. कोइरालाले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षार्थ कांग्रेसको पक्षमा उभिन मतदातालाई आग्रह गरे।
उनले केवल इतिहास सम्झेर मात्र नभई भावी पुस्ताको स्वतन्त्रता र समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे। “राष्ट्रियता र लोकतन्त्रको रक्षार्थ र कांग्रेसको इतिहास सम्झेर मात्र होइन, भावी पुस्ताको स्वतन्त्रता र समृद्धिका लागि पनि रुख बाहेक अन्यत्र भोट हाल्न सक्ने अवस्थामा हामी छैनौं। आउनुहोस्, एक पटक हामी सबै एकताबद्ध भएर भावी पुस्ताले देशभित्रै आफ्नो स्वर्णिम भविष्य देख्न सक्ने नेपाल निर्माणमा जुटौं!,” कोइरालाले पत्रको अन्त्यमा लेखेका छन्।
प्रतिक्रिया