काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिन्हमा भोट हाल्नु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको टिप्पणी गरेका छन्।
साम्पाङको अभिव्यक्ति काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले चलाएको डोजर र बल प्रयोगको घटनाप्रति लक्षित छ। त्यति बेला रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरपालिकाको प्रमुख थिए।
उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूले घण्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो! खेदाइमाग्नु हो! त्यो पार्टीबाट प्रधानमन्त्री बन्ने भन्ने मान्छेले के गर्यो काठमाडौंमा देख्या होला नि!’
स्थानीय तहको निर्वाचनका क्रममा बालेन शाहले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै भुइँमान्छे र पीडितको प्रतिनिधित्व गर्ने वाचा गरेका थिए। सोही अपिलका कारण चुनावमा उनको पक्षमा ठूलो जनसमर्थन जुट्यो। उनी काठमाडौं महानगरको प्रमुख पदमा निर्वाचित पनि भए।
तर, पदमा पुगेपछि बालेनकै निर्देशनमा थापाथली क्षेत्रमा विकल्पबिना डोजर चलाइएको र नगर प्रहरीले बल प्रयोग गर्दा सुकुम्वासीहरू घाइते भएका थिए। सुकुम्वासी बस्तीमा डोजर चलाउन पुगेपछि दोहोरो झडपको स्थिति बनेको थियो।
अहिले बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएपछि साम्पाङले चुनावको मुखमा उक्त घटनालाई उचाली रहेका छन्। गरिबका पक्षमा गीत गाएर चुनाव जित्ने तर सत्तामा पुगेपछि तिनैमाथि दमन गर्ने प्रवृत्ति दोहोरिन सक्ने साम्पाङको तर्क छ।
प्रतिक्रिया