काठमाडौं : सरकारले दक्षिण कोरियाको रोजगारीका लागि प्रतीक्षामा रहेका युवाहरूलाई भविष्यमा नकारात्मक असर पर्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेर हाल भइरहेका धर्ना, जुलुस र आन्दोलनका गतिविधिले दक्षिण कोरियासँगको सुमधुर सम्बन्धमा प्रतिकूल असर र भविष्यमा नेपाली श्रमिकको रोजगारीमा पनि नकारात्मक असर पर्न सक्ने औँल्याएको छ।
दक्षिण कोरियाको रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी ‘रोष्टर’मा रहेका युवाहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। आन्दोलनरत पक्षका माग सम्बोधन गर्न भइरहेका कूटनीतिक र प्रशासनिक प्रयासहरूबारे प्रष्ट पार्यो।
विगत केही समयदेखि रोष्टर अवधि समाप्त भएका र प्रतीक्षामा रहेका परीक्षार्थीहरूले रोष्टर अवधि थप, क्षेत्र परिवर्तनको सुविधा र रोजगारीको सुनिश्चितता जस्ता माग राखी प्रदर्शन गरिरहेका छन्। यस सम्बन्धमा मन्त्रालयले इपिएस कोरिया शाखा, वैदेशिक रोजगार विभाग, र दक्षिण कोरियास्थित नेपाली राजदूतावासमार्फत कोरियाको एचआरडी सेवासँग निरन्तर संवाद भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार, मागकर्ताहरूले उठाएका रोष्टर अवधि थप र क्षेत्र परिवर्तनका विषयमा एचआरडी कोरियाले आफ्नो स्पष्ट धारणा पठाएको छ। कोरियाली पक्षले इपिएस प्रणाली लागू भएका विश्वका सबै मुलुकमा नियमको एकरूपता कायम राख्नुपर्ने भएकाले नेपालका लागि मात्र छुट्टै नियम परिवर्तन गरी रोष्टर अवधि थप गर्न वा क्षेत्र परिवर्तन गर्न नसकिने जानकारी गराएको छ।
साथै, रोजगारीका लागि हुने ‘जब म्याचिङ’ प्रक्रिया पूर्णतः स्वचालित अनलाइन प्रणालीमार्फत हुने र यसमा कुनै पनि व्यक्ति वा निकायले हस्तक्षेप गर्न नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ। कोरियाली प्रणाली पारदर्शी र विश्वसनीय रहेको भन्दै यसमा शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ।
परीक्षार्थीका प्रतिनिधिहरूसँग गत पुस १८ गते भएको सहमति अनुरूप मन्त्रालयले दक्षिण कोरिया सरकारसँग वार्ताका लागि कूटनीतिक पत्राचार गरिसकेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, कोरियाली पक्षबाट औपचारिक निमन्त्रणा प्राप्त हुनासाथ समस्याको दीर्घकालीन समाधानका लागि एक उच्च स्तरीय सरकारी टोली दक्षिण कोरिया प्रस्थान गर्ने तयारीमा छ।
मन्त्रालयले समस्या समाधानका लागि जिम्मेवार पहल भइरहेकोले धैर्यता कायम राख्न र कूटनीतिक प्रक्रियामा विश्वास गर्न अपिल गरेको छ।
प्रतिक्रिया