गूगलले आफ्ना प्रयोगकर्ताका लागि दुईवटा महत्वपूर्ण अपडेट ल्याएको छ। एन्ड्रोइड फोनलाई चोरी हुनबाट जोगाउन नयाँ सुरक्षा प्रणाली र जीमेललाई अझ सहज बनाउन ‘जेमिनी एआई’ सार्वजनिक गर्यो।
यी फिचरले फोन चोरी भएको अवस्थामा डाटा र पैसा जोगाउन मद्दत गर्नेछन् भने एआईले जीमेलको प्रयोगलाई थप छरितो बनाउनेछ।
चोरी सुरक्षा अपडेट
फोन चोरी हुने जोखिमलाई कम गर्न गूगलले निम्न सुविधाहरू थपेको छ :
बायोमेट्रिक सुरक्षामा जोड: अब बैंक वा अन्य आर्थिक कारोबारका एपहरू खोल्न पिन मात्र पर्याप्त हुने छैन। सुरक्षाका लागि फिंगरप्रिन्ट वा फेस-लक अनिवार्य गरिएको छ।
नम्बरबाटै फोन लक गर्ने सुविधा: यदि फोन चोरी भयो भने अब अर्को उपकरणबाट गूगल अकाउन्ट लग-इन गरिरहनु पर्दैन। प्रयोगकर्ताले सिधै android.com/lock मा गएर आफ्नो मोबाइल नम्बर हालेकै भरमा फोन लक गर्न सक्नेछन्।
गलत पिनको सुरक्षा: यदि कसैले बारम्बार गलत पिन वा पासवर्ड हालेर फोन खोल्न खोज्यो भने, फोन आफैँ केही समयका लागि पूर्ण रूपमा लक हुनेछ।
यो सुविधा कसरी सुरु गर्ने?
१. मोबाइलको Settings मा गएर Google मा जानुहोस्।
२. All Services मा क्लिक गरी Personal & Device Safety छनोट गर्नुहोस्।
३. त्यहाँ रहेको Theft Protection मा गएर सबै सुविधाहरू ‘अन’ (On) गर्नुहोस्।
२. जीमेलमा एआई (AI) अपडेट
जीमेलमा अब जेमिनी एआई थपिएसँगै इमेल व्यवस्थापन झन् सजिलो भएको छ:
निःशुल्क सुविधाहरू: यसअघि सशुल्क प्रयोगकर्ताका लागि मात्र उपलब्ध ‘Help Me Write’ (लेख्न सघाउने) र ‘Suggested Replies’ (जवाफ सुझाउने) फिचर अब सबैका लागि निःशुल्क गरिएको छ।
सजिलो खोजी: अब इमेल खोज्न झन्झट गर्नु पर्दैन। तपाईंले सिधै प्रश्न सोधे जस्तै गरी इमेल खोज्न सक्नुहुन्छ। एआईले लामो इमेल पढेर त्यसको मुख्य कुरा (Summary) बुँदागत रूपमा उपलब्ध गराइदिनेछ।
एआई इन्बक्स: यसले तपाईंको पछिल्लो इमेलहरू हेरेर महत्त्वपूर्ण कामहरू, मिटिङ वा अन्य अपडेटहरूको सूची आफैँ तयार पारिदिनेछ ।
जीमेलमा यो सुविधा कसरी सक्रिय गर्ने?
१. जीमेल खोल्नुहोस् र माथि दायाँतिर रहेको Gear (सेटिंग्स) आइकनमा जानुहोस्।
२. Google Smart Features मा गएर यसलाई ‘अन’ गर्नुहोस् र ‘सेभ’ (Save) गर्नुहोस्।
फोन चोरी हुँदा बैंकका एप, तस्बिर र व्यक्तिगत जानकारी बाहिरिने डर सधैँ रहन्छ। गूगलको यो नयाँ सुरक्षा फिचरले ती विवरणलाई सुरक्षित राख्न मद्दत गर्नेछ। साथै, जीमेलमा एआईको प्रयोगले प्रयोगकर्ताको समय बचत हुनुका साथै इमेल लेख्ने र खोज्ने तरिकामा आधुनिकता ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया